नेभिगेशन
सुदूरपश्चिम

चार पटक सिफारिस दिदा र ताकेता गर्दा पनि ठेकेदार बोहराले अटेरी गर्न थाले : प्रमुख जिल्ला अधिकारी अर्याल

जालेबगर सडक पुनर्निर्माण

बझाङ : बेमौसमी बाढीले राजमार्ग बगाएपछि गत कात्तिक महिनाभर यातायात सम्पर्क विच्छेद भएको बझाङ जिल्लामा फेरि त्यही नियति दोहोरिने संकेत देखिएको छ । बाढीले बगाएको जयपृथ्वी राजमार्गको छबिसपाथिभेरा गाउँपालिकामा पर्ने जालेबगर खण्ड पुनर्निर्माणमा ढिलासुस्ती हुँदा जिल्ला नै यातायातविहीन हुने खतरा बढेको हो । 

जालेबगर खण्डमा सेती नदीको बाढीले करिब चार सय मिटर सडक पूर्णरुपमा बगाएको थियो । सडक बगाएपछि कात्तिक महिनाभर बझाङ सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिका, सुर्मा, तलकोट, मष्टा, साइपाल, खप्तडछान्ना र छबिसपाथिभेरा गाउँपालिका यातायात सम्पर्कबाट विच्छेद भएका थिए ।

कात्तिक अन्तिमतिर सेती नदीको धार फर्काएर अस्थायी रुपमा सडक सञ्चालन गरिएको थियो । यद्यपि हिउँ पग्लिने मौसम सुरु भएपछि सेतीको सतह बढेर अस्थायीरुपमा बनाइएको सडक नजिक पुगिसकेको छ । हिउँ पग्लिने क्रम बढेको र वर्षा पनि सुरु भइसकेकाले केही दिनभित्रै अस्थायी सडक बाढीले बगाउने निश्चित भएको प्राविधिकहरूको भनाइ छ ।

‘वैशाखभित्रै स्थायी सडकको काम सम्पन्न गर्न सकिएन भने आउने असोजसम्मै बझाङ जिल्ला यातायातविहीन हुने निश्चितजस्तै भइसकेको छ‚’ एक जना इन्जिनियर हरिशंकर जोशीले भने‚ ‘सेतीमा बाढी आउन थालिसकेको छ । नदीको सतह बढेपछि निर्माणको काम पनि बन्द हुन्छ । कात्तिकको भन्दा ठूलो समस्या अब हुन सक्छ‚’ उनले वैशाखभित्र काम सम्पन्न हुन नसके सेतीको सतह बढ्दै जाने र जेठदेखि ५/६ महिनासम्म जिल्लाभर नै यातायात सम्पर्क विच्छेद हुन सक्ने बताए । गत कात्तिकमा यही सडक बगाएपछि बझाङको यातायात सेवा महिनादिनसम्म ठप्प भएको थियो । यातायात अवरुद्ध हुँदा यहाँ औषधि, खाद्यान्न, ग्याँस, तेलजस्ता अत्यावश्यक सामग्रीको अभाव र अस्वभाविक मूल्यवृद्धि भएको थियो । जिल्ला बाहिर जाने यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

अस्थायी रुपमा गाडी सञ्चालन गर्न हाल बनाइएको ड्राइभर्सनभन्दा करिब १ सय मिटर पश्चिमतिरको कडा चट्टान फोरेर स्थायी सडक निर्माणको काम पुस महिनामै सुरु भए पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदा फेरि उस्तै समस्या दोहोरिने खतरा बढेको हो । ५ करोड ५० लाख रुपैयाँ लागतमा वैशाख मसान्तभित्रै सडकको पुनर्निर्माण सम्पन्न गर्ने गरी ड्रागन, जगदम्बा, सुर्मासरोवर जेभीसँग गत पुसमा ठेक्का सम्झौता भएको थियो ।

सडक खण्डको ८० मिटर भाग कडा चट्टानी रहेको र उक्त खण्डमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको छ । रक्षा मन्त्रालयमार्फत उपलब्ध हुने विस्फोटक पदार्थ ल्याउन ढिलाइ गरेको भन्दै प्रमुख जिल्ला अधिकारी र निर्माण व्यवसायीले एक अर्कालाई आरोप लगाउन थालेका छन् ।

ठेक्का सम्झौताअनुसारका आरसीसी पर्खाल, ग्याबिन जाली भर्ने काम र प्लम्बरको कामलगायत संरचना निर्माणको काम समयमै सम्पन्न हुने भए पनि विस्फोटक पदार्थ उपलब्ध नहुँदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माण व्यवसायीको भनाइ छ । माघमै विस्फोट पदार्थ ल्याउन सहजीकरणका लागि जानकारी गराउँदा पनि प्रमुख जिल्ला अधिकारीले सहजीकरणमा तत्परता नदेखाएको ठेकेदार कम्पनीका शेरबहादुर बोहराले आरोप लगाउँदै आएका छन् । तर उनको आरोप निराधार रहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताएका छन् । 

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निर्माण व्यवसायीकै कारण विस्फोटक पदार्थ आउन नसकेको बताए । आफूले सहजीकरण गर्ने मात्रै नभएर छिटो काम गर्नका लागि पटकपटक ताकेता गर्दा पनि ठेकेदारले वास्ता नगरेको उनको भनाइ छ । ‘हामीले ४/४ पटक निर्णय गरेर सिफारिस पठाइसकेका छौं । सरकारी प्रक्रियामा कतै अवरोध भए मन्त्रालयमा म सहजीकरण गर्छु छिटो ल्याउनूस् भन्दा मान्नु भएको छैन । पटक पटक ताकेता गर्दा मेरो कुरा नसुन्ने कता कता राजनीति गर्न जाने अहिले मलाई सिफारिस दिएन भनेर आरोप लगाउने ? ‚’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने‚ ‘बर्खा सुरु हुन लागिसक्यो भनेर ताकेता गरेको गर्‍यै छु । ठेकेदारले वास्ता गरेको छैन । अब १०/ १५ दिनपछि काम सुरु गरे पनि समय छ । उताबाट पत्र आइसकेको छ । अब काम सुरु गर्ने काम ठेकेदारको हो ।’

यता तटबन्धन निर्माण गरिदिने आश्वासन पाएर सेती नदीको धार परिवर्तन गर्न दिने आमबगर बासी पनि बर्खा सुरु हुँदासम्म पनि काम थालनी नहुँदा फेरि घरखेत बग्ने चिन्तामा परेका छन् ।

aambagar1653270228.jpg
आमबगरबासीसँग सेती नदीको डाइर्सन खुलाउन पहल गर्नुहुँदै तत्कालिन सिडियो मोहन अधिकारी

गत कार्तिक २३ गते सर्वदलिय सर्वपक्षिय बैठक बसी कार्तिक २४ गते जालेबगरमा सडक खुलाउन आमबगर तर्फ सेती नदी डाइभर्सन गरिएको हो । सबै नदीको भार आमबगर तर्फ भएकाले पानी सतह बढ्दै जाँदा आमबगबासीलाई चिन्ता छाएको स्थानीय विश्वप्रकाश जोशीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत ८ वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । हाल उनी अन्नपूर्ण पोष्ट दैनिकका बझाङ संवाददाता पनि हुन् ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।