बझाङ: साइपाल गाउँपालिकाको इंगलद्वार नदीमा ठेक्का सम्झौता भएको पाँच बर्ष वितिसक्दा पनि झोलुङे पुल अझै बन्न सकेको छैन । नदी तर्ने क्रममा बर्सेनि मानिसले ज्यान थाले पछि २०७३ मंसिरमा स्थानीय विकास मन्त्रालय अन्तर्गतको डोलिडार परियोजनाल पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । १ सय २० मिटर लम्बाइ भएको उक्त पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने गरि ठेकेदार कम्पनी हरि निर्माण सेवा प्रालि संग सम्झौता भएको थियो । लामो समय सम्म काम सुरु नभएपछि गत बर्ष व्यापक जनदवावमा निमार्ण कम्पनिले हेलिकप्टर मार्फत झोलुंगे पुल निर्माणको लागि लठ्ठा, फलामे सामान र सिमेन्टलगायत सम्पूर्ण सामानहरू निर्माण स्थलमा पु¥याएको थियो । गत वर्षको भदौमा निर्माण सामग्री निर्माण स्थल पु¥याएको ठेकेदार कम्पनीका प्रमुख प्रकाशजंग शाहले गत वर्षको असोजभित्रै काम सम्पन्न गरेर पुल हस्तान्तरण गर्ने बताएका थिए । तर सम्झौता भएको पाँच बर्ष वितिसक्दा पनि अझै झोलुङे पुल अझै बन्न सकेको छैन । पुलको एकतर्फको पर्खालको आधा काम गरेर ठेकेदार सम्पर्क विहिन बनेका छन ।
![](/uploads/editor/2021-09-14/035948652tamail bridge.jpg)
यहि बाटो भएर साइपाल गाउँपालिकाका बासिन्दाको दैनिक कामकाजका लागी ओहोरदोहोर गर्ने गरेका छन । नदी ठूलो भएको र वारपारका लागि कुनै पनि विकल्प नभएका कारण स्थानीयले जोखिम मोलेर खोला तर्ने वा काठको साँधु प्रयोग गरेको साईपालका दिपक बोहराले बताए । हेलिकप्टरबाट सामान ढुवानी हुँदा पुल बन्ने भयो भनेर खुसी भएका साईपालवासी पुल नबन्दा काठको साँधुमा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको उनको भनाई छ । पुल नभएका कारण यो खोला तर्ने क्रममा पाँच वर्षमा ७ जनाले ज्यान गुमाइसकेका छन । गत बर्ष दुई÷चार दिन काम गरेर निमार्ण सामाग्री पारि ठेकेदार सम्पर्क विहनि बनेको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । उनले भने मैले पुल निमार्णको काम छिटो गर्न बारम्बार आग्रह गरेको थिए । पहिले त हुन्छ समयमै सक्छु । काम भईरहेको छ भन्थे । अहिले त फोन गर्दा पनि उठाउँदैनन् । यो नदी तर्ने क्रममा बर्सेनि मानिसहरूको ज्यान गुमाउने गरेको र अब हुने अप्रिय घटनाको जिम्मेवार ठेकेदारले हुनुपर्ने उनको भनाई छ ।
![](/uploads/editor/2021-09-14/040006224jp highway 2.jpg)
तल्कोट गाउँपालिकाको देवसैनमा सेती नदीमा पक्की पुल निमार्णका लागी २०६८ सालमा ठेक्का सम्झौता भएको थियो । याक्थुहाङ निमार्ण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो पुलको काम पनि हाल सम्म सुरु हुन सकेको छैन । यद्यपी कम्पनीले प्रत्येक वर्ष ठेक्का निमार्णको अवधि भने नवीकरण गरि रहेको छ । राजनैतिक संरक्षणका कारण ठेकेदारले निमार्ण कार्यमा ढिलाई गर्ने गरेको स्थानियहरुको आरोप छ ।तमैलमा निमार्ण हुन लागेको पक्की पुल, केदारस्युँ गाँउपालिकाको नारुगौडामा बन्न लागेको पुल निर्माणको समय गुज्रिसक्दा पनि बन्न सकेका छैनन् । तमैलमा निर्माणाधिन पुलको पनि गएको पुसमा सम्झौता अवधि सकिएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने सर्तमा के एच कन्ट्क्सन प्रालिले ११ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने गरि ठेक्का पाएको थियो । निमार्ण कार्यको समायावधि सकिँदा पनि पुलको निमार्ण कार्य सम्पन्न भएको छैन ।
![](/uploads/editor/2021-09-14/040018381jp highway.jpg)
जयपृथ्वी राजमार्गको स्तरोन्तीका लागी सरकारले रणनैतिक सडक पुल निर्माण, सडक पूर्वाधार विकास कार्यक्रम, राजमार्ग स्तरोन्नति तथा पुर्नस्थापना कार्यक्रम र सडक क्षेत्र विकास आयोजना अन्र्तगतका कार्यक्रम बाट करोडौ रकम खर्च गरेको छ । यति धेरै रकम खर्च गर्दा पनि सडकको अवस्था भने परिवर्तन भएको छैन । ठेकेदार कम्पनिले गुणस्तरहिन काम गर्दा सर्वसाधारणलाई सास्ती हुने गरेको छ । जयपृथ्वी राजमार्गको विभिन्न खण्डमा जागृती निमार्ण सेवा, ग्वाल्लेक निमार्ण सेवा र जलजला निमार्ण सेवाले सडक स्तरोन्तीको ठेक्का लिएका छन । अहिले राजमार्गको बागथला देखि चैनपुर सम्मका सडकमा भएका खाल्डा पुर्ने, मोडहरु फराकिलो गर्ने र केहिस्थानमा कालोपत्रे गर्ने काम सकिएपनि ठेकेदार कम्पनिले गरेको काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ ।सडकको गुणस्तर राम्रो बनाउनुभन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण यस्तो समस्या भएको बझाङवासीको आरोप छ । सडकको स्तरोन्तीका लागी बजेट विनियोजन हुने गरेको भए पनि ठेकेदार कम्पनिको लापरवाहिका कारण समयमै सडकको स्तरोन्ती हुन सकेका नसक्दा सास्ती खेपिरहनु परेको छ ।
![](/uploads/editor/2021-09-14/040029808Engaldar bridge (2).JPG)
छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माणको अवस्था पनि उस्तै छ । सदरमुकाम चैनपुर देखि रुपातोला सडकलाई चौडा बनाउन २०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेको भए पनि निमार्ण कार्यले गति लिन सकेको छैन । सडक निमार्णका लागी दुई खण्डमा काम भईरहेको छ । बझाङ सदरमुकाम चैनपुर देखि तल्कोट गाउँपालीकाको रुपातोला सम्म १८ किलो मिटर मा लुम्बिनी र राजेन्द्र निर्माण सेवा र रुपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडक खण्डमा स्वच्छन्द नागार्जुन जेभी कम्पनी ले काम गरिरहेको छ । दुई खण्डमा निमार्ण कार्य भैरहेको भए पनि सडकको भौतिक प्रगति सन्तोषजनक छैन । २२ करोडको लागतमा काम गर्ने गरी निर्माणको जिम्मा पाएको कम्पनीले १८ किलोमिटर सडकलाई ठूला सवारी साधनहरू सञ्चालन गर्न मिल्ने गरी साढे सात मिटर चौडा बनाउने जिम्मेवारी पाएको थियो । ट्रयाक खोल्ने क्रममा कडाखालको चट्टान लागेकोले मेसिनले काम गर्न सक्ने अवस्था नभएको र विस्फोटक पदार्थ आवश्यक भएकाले निमार्ण कार्यमा केही ढिलाइ भएको ठेकेदार कम्पनीको भनाई छ ।
![](/uploads/editor/2021-09-14/040046572kathe bridge.jpg)
ठेकेदार कम्पनिको लापरवाहिका कारण बझाङमा हुने विकास निमार्णका काममा ठेकेदारलाई मस्ती र जनतालाई सास्ती हुने गरेको छ । ठेक्का लिने र समयमा काम नगरि ढिला सुस्ती गर्ने र राजनैतिक पहुँचका कारण म्याद थप गरि निमार्ण कार्य अलपत्र पार्ने गरेका कारण यो अवस्था आएको हो ।जिल्लामा भईरहेका निमार्ण कार्यमा ठेकेदार कम्पनिको भुमीका सन्तोषजनक नभएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । उनले भने “कतिपय अटेरी गर्ने ठेकेदारको भुक्तानी रोक्का गर्न पत्र पठाएको थिए । अधिकांस ठेकेदारको भुक्तानी रोकिएको छ । देवसैन पुल निमार्णको ठेकेदारले पुलको सामान ढुवानी गरेर रकम भुक्तानी गर्न खोजेको भएपनि तत्कालै पत्र पढाउदा रोकिएको छ । नारुगौडामा पुल र जयपृथ्वी राजमार्ग स्तरोन्नतीको कामको पनि भुक्तानी रोकिएको छ । अरु भन्दा पनि समन्वयका लागी कार्यालयहरु टाढा हुँदा समस्या भएको छ । त्यसैमा ठेकेदारहरुको राजनैतिक पहुँचका कारण पनि असहज भएको छ । बर्षेसन ठेक्का नविकरण गर्दै बस्ने प्रवृतिका कारण यस्तो अवस्था आएको छ । तुरुन्तै काम गर्न भनेको छु ।”बझाङमै आयोजनाका कार्यालय नहुँदा पनि ठेकेदारहरुले लापरवाहि गर्ने गरेका छन । आयोजनास्थलको स्थलगत अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई निर्देशन समेत दिएको उनको भनाई छ ।